दफा
कार्यालयले राष्ट्रिय अभिलेखालयमा कागजात पठाउने सम्बन्धमा

६.१ कार्यालयले देहायका कागजात सुरक्षित रूपमा संरक्षण गरी राख्नको लागि राष्ट्रिय अभिलेखालयमा पठाउनु पर्नेछ :–
६.१.१ पच्चीस वर्ष वा सो भन्दा पुराना उपदफा २.१.१.१ र २.१.१.२ मा उल्लिखित राष्ट्रिय दृष्टिकोणले महत्वपूर्ण कागजात,
६.१.२ ताडपत्र, भोजपत्र, स्वर्णपत्र, ताम्रपत्र वा शिलापत्रको प्रतिलिपि वा तस्वीर,
६.१.३ प्रत्येक पहिलो टाँचा लागेको हुलाक टिकट तथा मनीअर्डर फर्म, हवाई पत्र र पोष्ट कार्डको नयाँ प्रकाशन ।
६.२ कार्यालयले राष्ट्रिय दृष्टिकोणबाट अभिलेखको रूपमा संरक्षण गरिनु पर्ने ठानेमा देहायका कागजात अवधि तोकी वा नतोकी सुरक्षित रूपमा संरक्षण गरी राख्नको लागि राष्ट्रिय अभिलेखालयमा पठाउन सक्नेछ :–
६.२.१ प्रतिवेदन, आर्थिक विवरण, सन्धि सम्झौता वा कुनै प्रकाशन,
६.२.२ हस्तलिखित ग्रन्थ, किताव, पत्र–पत्रिका, चिठ्ठीपत्र, लिखत चित्र वा तस्वीर,
६.२.३ नक्सा, योजना, चार्ट, फाइल, मिसिल वा रजिष्टर, फिल्म,
६.२.४ फिल्म, माइक्रो फिल्म (ध्वनि रेकर्डर), चलचित्र वा कम्प्युटर डिस्क वा कम्प्युटर क्यासेटका मूलप्रति वा प्रतिलिपि,
६.२.५ उपदफा ६.२.१, ६.२.२, ६.२.३ वा ६.२.४ मा उल्लेख भए वाहेकका अन्य कागजात ।
६.३ कार्यालयले सरकारी कागजात धुल्याउने सम्बन्धी प्रचलित कानून बमोजिम सरकारी कागज धुल्याउँदा तोकिएबमोजिमका कागजात राष्ट्रिय अभिलेखालयमा पठाउनु पर्नेछ ।
६.४ कार्यालयले राष्ट्रिय अभिलेखालयमा कागजात पठाउँदा सो को बर्गीकरण अनुसारको सूची समेत पठाउनु पर्नेछ ।
६.५ कार्यालयले उपदफा ६.१ वा ६.२ बमोजिमका कागजात राष्ट्रिय अभिलेखालयमा पठाउँदा कुनै खास अवधिसम्म त्यस्ता कागजात तोकिएको व्यक्ति बाहेक अरु कसैलाई हेर्न, सार्न वा त्यसको प्रतिलिपि दिन नहुने भएमा सो कुरा र त्यस्तो अवधि समेत उल्लेख गरी राष्ट्रिय अभिलेखालयमा राख्न पठाउनु पर्नेछ ।
६.६ उपदफा ६.१ बमोजिम कार्यालयले राष्ट्रिय अभिलेखालयमा पठाएका कागजात सो कार्यालयले फिर्ता लिन सक्ने छैन ।
तर उपदफा ६.२ बमोजिम राष्ट्रिय अभिलेखालयमा पठाएका कागजात मध्ये अवधि तोकी पठाएका कागजात त्यस्तो अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयले चाहेमा तोकिएबमोजिम फिर्ता लिन सक्नेछ ।
६.७ उपदफा ६.१ बमोजिम राष्ट्रिय अभिलेखालयमा पठाइएका कागजात जुन कार्यालयले पठाएको हो सोही कार्यालयलाई आवश्यक पर्न गएमा त्यस्तो कागजात पुन राष्ट्रिय अभिलेखालयमा फिर्ता गर्ने गरी तोकिएको अवधिसम्मको लागि राष्ट्रिय अभिलेखालयले सम्बन्धित कार्यालयलाई तोकिएबमोजिम उपलव्ध गराउन सक्नेछ ।